काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा निलम्बित भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार दाहालले निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको आरोपमा निलम्बन गरिएको हो ।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी बलले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले उनलाई निलम्बन गर्दै आरोपबारे जाँचबुझ अघि बढाएको हो ।
गृह मन्त्रालयले दाहालमाथि लागेको आरोपबारे जाँचबुझ गर्न अधिकृतसमेत तोकेको छ । ती अधिकृतले तीन दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।
मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविरुद्धका कार्य, संवेदनशील तथा गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।
दाहालमाथि लागेको आरोपको छानबिनपछि थप कारबाहीबारे निर्णय हुने बताइएको छ ।












