ललितपुर । गाईभैंसीमा लाग्ने लम्पीस्किन रोग नियन्त्रण तथा रोकथाम अभियान ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ चौघरेबाट सुरु भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले आइतबार प्रदेशको अभियान सुरु गरेका हुन् ।

पौडेलले गाईभैंसीको जीवन सुरक्षा नागरिकहरूको आर्थिक सुरक्षाको महत्वपूर्ण पक्ष भएकाले प्रदेश सरकारले कृषकहरूको पशुधनको सुरक्षाको नीति लिएर खोप तथा औषधोपचारलाई अभियानका रूपमा चलाइएको बताए ।

ADVERTISEMENT

अभियानअन्तर्गत प्रदेशभरका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने मन्त्री पौडेलले बताए । एक सातासम्म चल्ने यस अभियानबाट बागमती प्रदेशका १३ जिल्लाका हजारौं किसान लाभान्वित हुनेछन् ।

ADVERTISEMENT

कोन्ज्योसोम गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, पशु सेवा कार्यालय प्रमुख प्रभात न्यौपाने, बागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. रामप्रकाश प्रधान, गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलाललगायतले पशुधनको सुरक्षाका लागि लम्पीस्किन रोग निवारणमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

अभियानका क्रममा सबैभन्दा बढी चितवनमा ३० हजार पशुलाई खोप लगाइने जानकारी दिँदै न्यौपानेले ललितपुरमा १० हजार पशुलाई खोप दिइने बताए । बागमती प्रदेशका अन्य जिल्लामा मकवानपुरमा २५ हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइएको पनि जानकारी गराइएको छ ।