काठमाडौं । प्रमोद खरेल, प्रकाश सपुत र देवेन्द्र बब्लु एउटै स्टेजमा गुञ्जिएका छन्। तेह्रथुमको म्याग्लुङमा खचाखच दर्शकमाझ तीनै कलाकारले आ–आफ्ना चर्चित गीत प्रस्तुत गरेका छन्।
प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपुतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र देवेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे। प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाशको भाका ब्यान्ड र देवेन्द्र बब्लुको फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए।
आयोजक प्रशान्त सुनारका अनुसार कार्यक्रम राति करिब १२ बजेसम्म चलेको थियो। ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको सांगीतिक यात्रा तेह्रथुमबाट सुरु भएको हो।
सातै प्रदेशका १३ वटा सहरमा आयोजना हुने टुरमा प्रमोद, प्रकाश र देवेन्द्रसहितको टोलीले प्रस्तुति दिनेछ। तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ।
त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ। त्यसैगरी नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका सहरमा पनि कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको सांगीतिक यात्रा स्थानीय आयोजक तथा विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ।
प्रमोद खरेल, प्रकाश सपुत र देवेन्द्र बब्लुलाई एउटै टुरमा लिएर सातै प्रदेशका विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ।







