काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। देशभरजस्तै काठमाडौं उपत्यकाको मौसममा पनि सुधार हुँदै गएको छ।

सोमबार बिहान काठमाडौं उपत्यकामा हुस्सु लागेको छ। हुस्सुका कारण बिहान चिसोसमेत बढेको महसुस भएको छ।

ADVERTISEMENT

मौसमविद् विनु महर्जनका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकामा हुस्सु लागेको हो। उनका अनुसार अहिले काठमाडौंको भिजिबिलिटी करिब ८ सय मिटर रहेको छ।

ADVERTISEMENT

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।

तीन दिन ठूलो वर्षाको सम्भावना छैन

मौसमविद् महर्जनका अनुसार भारी तथा लगातारको वर्षा आइतबारदेखि नै कम भएको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहे पनि ठूलो वर्षा गराउने प्रणाली तत्काल विकसित हुने सम्भावना नरहेको उनले बताइन्।

ADVERTISEMENT

आगामी तीन दिनमा पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ छ। यद्यपि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा क्षणिक तथा खण्डित वर्षा हुन सक्नेछ।

काठमाडौं उपत्यकामा पनि दिउँसो बादल लाग्ने र केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महर्जनले जानकारी दिइन्।