काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन्।

खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा शनिबार भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। त्यसक्रममा सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनुपर्ने धारणा राखेका छन्।

ADVERTISEMENT

मन्त्री खनालले कोभिड–१९ महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी सङ्कटमा परिणत भएको तथ्य उजागर गरेको बताए। महामारीले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको उनले उल्लेख गरे।

ADVERTISEMENT

‘महामारी स्वास्थ्य सङ्कट मात्र थिएन, यसले दशकौँमा हासिल भएका विकासका उपलब्धिहरूलाई समेत चुनौती दिएको थियो’, परराष्ट्रमन्त्री खनालले भने।

नेपालले विश्वव्यापी महामारीको तयारीलाई थप सुदृढ बनाउन विश्व स्वास्थ्य सङ्गठन महामारी सम्झौता (डब्ल्यूएचओ प्यान्डेमिक एग्रिमेन्ट) तथा संशोधित अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेको बताए।

ADVERTISEMENT

विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले उल्लेख गरे। विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने, महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने, विश्व स्वास्थ्य सङ्गठनलाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व सुदृढ गर्नुपर्ने, ‘सम्पूर्ण सरकार, सम्पूर्ण समाज र एक स्वास्थ्य (वान हेल्थ)’ अवधारणामार्फत समुदायलाई तयारीको केन्द्रमा राख्नुपर्ने र युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

परराष्ट्रमन्त्री खनालले विश्व समुदायले सङ्कट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिए। ‘सङ्कट आएपछि प्रतिक्रिया दिने हाम्रो शैलीलाई पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ,’ खनालले भने।

उनले उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आह्वान गरे। कुनै पनि देश र कुनै पनि पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माणका लागि सहकार्य गर्न उनले आग्रह गरे।