काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।
पार्टी सचिवालयको आजको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । अब केन्द्रीय कमिटीले उनको नाम अनुमोदन गर्ने छ ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो ।
त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।
सात वर्ष भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुन: पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुन: राजनीतिक सक्रियतालाई रोकेका थिए ।
पार्टीभित्रको सन्तुलनमा पुन: बिग्रिएपछि अध्यक्ष ओली भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।
भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ ।
भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।







