काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ८) देखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।

साविककै आकारमा रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ बैंकनोट (सिरिज २०२५) चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

ADVERTISEMENT

नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ । यो नोटको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ । नोटको अगाडिपट्टीको मध्य भागमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।

ADVERTISEMENT

यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको रु. १००० दर (सिरिज २०१९) को बैंकनोट संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म मात्र जारी गरिएको थियो । त्यसपछिको संकेत नम्बर ट/५२ ०००००१ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

विशेषताहरू :

ADVERTISEMENT

नोटको अगाडिपट्टिको मध्य भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ” भन्ने वाक्य उल्लेख गरिएको छ ।

बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । सो पानीछापमुनि 1000 अंकित पानीछाप समेत रहेको छ ।

नोटको दायाँतर्फ नीलो रङमा 1000 को केही अंश देखिएको छ, जसलाई प्रकाशतर्फ फर्काएर हेर्दा पूर्ण 1000 अंक स्पष्ट देखिन्छ ।

दृष्टिविहीन व्यक्तिहरूले छोएरै नोट पहिचान गर्न सहज होस् भन्ने हेतुले दायाँतर्फको तल्लो भागमा रोमन अक्षर M राखिएको छ । साथै, सगरमाथा हिमालको बायाँ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखाहरू रहेका छन् ।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ ।

नोटमा ३.५ मि.मी. चौडाइ भएको चलायमान सुरक्षा धागो  रहेको छ । सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने यस धागोमा NRB र 1000 अंकित गरिएको छ ।

नोटको पृष्ठ भागको मध्य खण्डमा चितवनस्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेको ‘देवकली’ नामक हात्तीबाट जन्मेका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ ।

पानीछापको दायाँतर्फ नेपालका सातै वटा प्रदेशहरूलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ ।

 नोटको दायाँतर्फ RUPEES ONE THOUSAND लेखिनुका साथै हनुमान ढोकास्थित लोंचोछेनमा रहेको ऐतिहासिक महत्त्वको थामको आकृति रहेको छ । बायाँतर्फ नीलो रङको 1000को अंश  रहेको छ भने तल्लो बोर्डरमा सिरिज नम्बर 2025 A.D. अंकित छ ।