काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी सडक विभागले काम तीव्र पारेको छ।
विभागका अनुसार अधिकांश स्थानमा मर्मतपछि यातायात सञ्चालन भइसकेको छ भने बाँकी अवरोध हटाउने काम भइरहेको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार दसैँसम्म गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सम्पन्न भएसँगै यातायात सञ्चालनमा आइसकेको छ। त्यहाँ स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया पूरा गरी निर्माण व्यवसायीले काम सुरु गरिसकेको विभागले जनाएको छ।
नुवाकोटको रातोमाटेमा बाढीले करिब २०० मिटर सडक कटान गरेको थियो। उक्त क्षेत्रमा ‘ब्याक कटिङ’ गरेर सडक सञ्चालनमा ल्याइएको छ। त्यस्तै, देवीघाटमा नेपाली सेनाले बेलीब्रिज जडान गरेपछि गल्छीदेखि विदुरसम्म यातायात सञ्चालनमा आएको छ।
विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये करिब ९ किलोमिटर खुलिसकेको छ। बाँकी करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले नेपाली सेनाले ‘ब्लास्टिङ’मार्फत दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरेको छ। केही दिनमै उक्त क्षेत्रमा पनि यातायात सञ्चालन गर्ने अपेक्षा गरिएको विभागले जनाएको छ।
त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान गर्नुपर्नेछ। यी दुई स्थानमा पुल जडान भएपछि गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्न सकिने विभागको भनाइ छ।
बेत्रावतीमा पुरानो पुल रहेकै स्थानमा बेलीब्रिज राख्ने तयारी गरिएको छ। पुरानो फाउन्डेसन भेटिएकाले त्यसको मर्मतपछि नेपाली सेनासँग रहेको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ। तर, त्यसअघि विदुर–बेत्रावती सडकखण्डको निर्माण पूरा गर्नुपर्नेछ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकमा ठूलो समस्या नरहेको विभागले जनाएको छ। स्याफ्रुबेँसीमा भने अर्को बेलीब्रिज जडान गर्नुपर्नेछ। त्यहाँ करिब ९० मिटर लामो पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ। त्यसका लागि डिजाइनको काम सुरु भइसकेको छ।
यता, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको करिब १५ किलोमिटर सडक भने बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ। उक्त क्षेत्रमा सडकको अवस्थाबारे सर्भेक्षण सुरु भइसकेको विभागले जनाएको छ।
त्यसैगरी, बाढीले क्षति पुर्याएको मुग्लिन–गल्छी सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। नयाँ ट्रयाक खुलेसँगै उक्त सडकमा दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ।






