काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस चालकले आत्मदाह गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले न्यायिक छानबिन समिति गठनको माग गरेका छन्।

पाँचवटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई चालक र ट्राफिक प्रहरीबीचको सामान्य विवादका रूपमा मात्र नहेरी कानुन कार्यान्वयन गर्ने निकायको कार्यशैली, व्यवहार र सडक शासन प्रणालीसँग जोडेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

ADVERTISEMENT

संयुक्त विज्ञप्तिमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिको हस्ताक्षर रहेको छ।

ADVERTISEMENT

उनीहरूले घटनाको सुरुदेखि चालकले आत्मदाह गर्दासम्मको सम्पूर्ण घटनाक्रम अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क विवरण र सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

संयुक्त विज्ञप्तिअनुसार असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोटतर्फ जाँदै गरेको बा.५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुगेका बेला मोटरसाइकलका कारण सडक आवागमनमा अवरोध भएको थियो। त्यस क्रममा चालक र ट्राफिक प्रहरीबीच विवाद भएको र चालकलाई नियन्त्रणमा लिन खोजिएको दाबी गरिएको छ।

ADVERTISEMENT

घटनापछि चालकलाई ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा लैजान खोजिएको र उनले त्यसको प्रतिवाद गरेको पनि विज्ञप्तिमा उल्लेख छ। त्यसपछि चालकले बसभित्र आफूलाई थुनेर आगो लगाएको र बससमेत जलेको बताइएको छ।

यातायात व्यवसायी तथा श्रमिक संगठनहरूले चालकलाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा तथ्यपरक अनुसन्धान आवश्यक रहेको बताएका छन्।

उनीहरूले मृतक चालकका परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र जलेको सवारीसाधनका धनीलाई समेत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

त्यस्तै, सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउने व्यवस्था गर्न तथा सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा आबद्ध गराउन पनि माग गरिएको छ।

ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत समस्याबारे तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन र सुनुवाइ प्रणाली स्थापना गर्नुपर्ने उनीहरूको माग छ।

संघ–संगठनहरूले सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच तथा कारबाही कानुनी प्रक्रिया र आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन गर्ने संयन्त्र बनाउन पनि माग गरेका छन्।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै पाँचवटै महासंघ तथा संघ–संगठनका अध्यक्ष सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ। माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत थप संघर्षका कार्यक्रम घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्।

यस घटनामा चालक र ट्राफिक प्रहरीबीच विवाद भएको तथा त्यसपछि बसमा आगलागी भएको विवरण सार्वजनिक भए पनि घटनाको सम्पूर्ण कारण र जिम्मेवारीबारे अनुसन्धान जारी रहेको छ।