काठमाडौं । असोजको सुरूवातसँगै बजारमा दसैँमा खपत हुने वस्तुको व्यापारको समय आएको छ । खाद्यान्न, लत्ताकपडाबाहेक दसैँ–तिहराको समयमा उच्च माग हुने चङ्गा पनि बजारमा देखिन थालेका छन् ।
विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न बजारमा रंगीचंगी चङ्गा, लट्टाई र धागो बिक्रीमा राखिएका छन् । मूल्य सोधपुछ गर्ने र खरिद गर्नेको चहलपहल चङ्गा पसलमा देखिन थालेको छ । दसैँको समयमा परिवार तथा साथीभाइसँग चङ्गा उडाउने पुरानो परम्परा रहेकाले यो समयमा चङ्गाको माग बढ्ने गरेको छ ।
काठमाडौँ टेङ्गल चोकस्थित भुतमाली पस: (द काइट सप)का सञ्चालक विपीनराज वैद्यले दसैँ–तिहार नजिक आएसँगै आयात थालिएको र अब विस्तारै ग्राहकको माग बढ्ने बताए । दसैँ–तिहारमा यस वर्ष मौसम राम्रो हुने अपेक्षा रहेकाले बिक्री पनि राम्रो हुने उनको अपेक्षा छ । ‘चुनौती बजारका लागि छैन । मौसमले गर्दा चुनौती हुने गर्छ,’ २४ वर्षदेखि चङ्गा व्यापारमा संलग्न उनले थपे, ‘तीन वर्षमा एकपटक मलमासले गर्दा दसैँ पछाडि धकेलिने भएर नाफा राम्रो हुन्छ । पानी पर्दियो भने बिक्री भएपनि नाफा कम हुन्छ ।’
नेपालमा मुख्यतः भारतबाट चङ्गा आयात हुन्छ । भारतको कलकत्ता, जयपुर, वनारस, बरेलीलगायत ठाउँबाट चङ्गा, धागो आयात हुने गरेको छ । ६ देखि १ हजार मिटरसम्मको धागो २ हजार ५ सय रुपैयाँसम्म पर्ने रहेको उनले बताए । सिजनको समयमा उपत्यकाबाहिर बुटवल, धरान, धनकुटा र अष्ट्रेलिया, अमेरिका, बेलायतसम्म चङ्गा पठाउने गरेको वैद्यले सुनाए । ‘व्यापार १२ महिना नै हुन्छ । अष्ट्रेलिया, अमेरिका, बेलायतसहित नेपाली रहेका देशमा पठाउँछु । बाटो बन्द भएर यो वर्ष ल्हासा जान पर्ने गएन,’ उनले भने । चराचुरुंगीलाई असर गर्ने भएकाले नाइलनको धागो बिक्री बन्द गरेको उनले सुनाए ।
नेपालमा उत्पादन गरेर बिक्री गर्न सके भारतबाट ल्याइने चङ्गाभन्दा सस्तो पर्ने उनले बताए । मूल्य र बजारको अवस्थाले गर्दा नेपालमा उत्पादन हुन नसकेको उनको अनुमान छ । ‘अहिले थोरै उत्पादन हुन्छ त्यसले गर्दा मूल्य धेरै हुन्छ । त्यही उत्पादन यहीँ ठूलो प्रोडक्सन गर्न सके सस्तो पर्छ,’ उनले भने ।पछिल्लो समय मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनको प्रभाव बढ्दै गएपनि दसैँमा चङ्गा उडाउने संस्कृतिप्रतिको आकर्षण भने पूर्ण रूपमा घटेको छैन । दसैँको छुट्टीमा घरबाहिर निस्केर आकाशमा चङ्गा उडाउनु धेरैका लागि बाल्यकालको सम्झनासँग जोडिएको गतिविधि हो । दसैँको मुख्य दिन नजिकिँदै जाँदा चङ्गाको बिक्री अझ बढ्ने अपेक्षा व्यवसायीको छ ।







