काठमाडौं । सरकारले विद्युत्मा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। भ्याट हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग विद्युत्मा लगाइएको भ्याट हटाउन प्रस्ताव गरेका थिए। विद्युत् खपत बढाउने सरकारको रणनीतिअनुसार मूल्य घटाउनुपर्ने भएकाले भ्याट हटाउन प्रस्ताव गरिएको मन्त्रालयका एक अधिकारीले बताए।

ADVERTISEMENT

ऊर्जा मन्त्रालयका ती अधिकारीका अनुसार अर्थमन्त्री वाग्ले प्रस्तावप्रति सकारात्मक देखिएका छन्। अब भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ।

ADVERTISEMENT

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत्मा भ्याट लगाउन थालेको हो। हाल घरायसी ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको छ।

विद्युत्मा भ्याट लगाएपछि उपभोक्तामाथि थप वित्तीय भार परेको भन्दै यसको आलोचना हुँदै आएको थियो। यही पृष्ठभूमिमा सरकारले भ्याट हटाउने तयारी गरेको हो।

ADVERTISEMENT

मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै विद्युत्मा लाग्दै आएको भ्याट हट्नेछ। ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत विद्युत्मा भ्याट हटाउने विषयमा सकारात्मक छन्।