हेटौँडा । वाग्मती प्रदेशको संगठन तथा व्यवस्थापन (ओएनएम) संरचना पुनरावलोकन गर्दै १३४ दरबन्दी कटौती गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकनसम्बन्धी खाका स्वीकृत गरेको हो ।

ADVERTISEMENT

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार, ओएनएम सर्वेक्षणअन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या १८० कायम गरिएको छ ।

ADVERTISEMENT

हाल कायम ४ हजार ८१४ दरबन्दीमध्ये ४ हजार ६८० दरबन्दी प्रस्ताव गरिएको छ । यसअनुसार प्रदेशमा १३४ दरबन्दी घट्ने भएको छ ।

त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि २४ वटा अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रस्तावित उक्त दरबन्दीमा सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्मका पद रहेका छन् ।

ADVERTISEMENT

मन्त्री केसीका अनुसार उक्त पदहरू सम्बन्धित काम वा व्यवस्थापनको प्रक्रिया पूरा भएपछि स्वतः समाप्त हुने प्रकृतिका अस्थायी दरबन्दी हुन् ।

बैठकले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका विभिन्न सरसफाइ डिभिजनका लागि पनि ९० वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सहायक पम्प अपरेटर, पम्प अपरेटर, हल्का सवारी चालक, कार्यालय सहयोगी, महिला कार्यकर्ता लगायतका पदमा दरबन्दी स्वीकृत गरिएको हो ।