काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीले सम्बन्ध बिग्रिएको भन्दै टिप्पणी गरेपछि कलाकार अशोक दर्जीले नरिसाउन आग्रह गरेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत अशोकले टंकलाई गाली नगर्न आफ्नो प्रशंकलाई आग्रह गरेका छन्। ‘हिजो एउटा कार्यक्रममा मेरा कर्म दिने टंक दाइले बोल्नुभएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा धेरै अतिरञ्जित ढंगले प्रस्तुत भइरहेको देखेँ। त्यसैले सबैसँग मेरो विनम्र अनुरोध छ- कृपया यस विषयलाई लिएर टंक दाइलाई र मलाई गाली नगर्नुहोला।’
बरु अशोकले टंकलाई आफ्नो अभिनय रहेको फिल्म ‘पार्वती’ हेर्न आग्रह गरेका छन्। ‘टंक दाइ, तपाईंले पार्वती हेर्नुभएको छ कि छैन? हेर्नुभएको छैन भने एकपटक हेरेर मेरो र निता दिदीको काम कस्तो लाग्यो, मलाई भन्नुहोला है,’ उनले लेखेका छन्।
आफ्नोबारेमा भन्ने अधिकार संगीतकार टंकलाई रहेको उनले स्मरण गराएका छन्। ‘तपाईं त मेरो भगवान् र गुरुजस्तै हुनुहुन्छ। मलाई यति भन्ने अधिकार तपाईंलाई छ दाइ,’ अशोकले भनेका छन्।
अशोकको अभिनय रहेको फिल्म ‘पार्वती’ देशभर प्रदर्शन भइरहेको छ। चौथो सातामा चलिरहेको फिल्मलाई दर्शकले मन पराइरहेका छन्।






