काठमाडौं । चीनको प्रमुख अटोमोबाइल उत्पादक बीएआईसीअन्तर्गतको प्रिमियम विद्युतीय ब्रान्ड आर्कफक्सले नयाँ विद्युतीय एसयूभी अल्फा टी७ सार्वजनिक गरेको छ । प्रतिस्पर्धी मूल्यमा सार्वजनिक गरिएको अल्फा टी७ ले बजारमा प्रवेश गरेकै एक घण्टामा ठूलो प्रतिक्रिया पाएको छ। कम्पनीका अनुसार, सार्वजनिक भएको पहिलो ६० मिनेटमै ३० हजारभन्दा बढी पक्का अर्डर प्राप्त भएका छन् ।

कम्पनीले अल्फा टी७ लाई नौवटा भेरियन्टमा उपलब्ध गराएको छ। यसको सुरुवाती मूल्य १९ हजार ५०० अमेरिकी डलर तोकिएको छ । अल्फा टी७ लाई ग्राहकको आवश्यकता र प्रयोगअनुसार पूर्ण विद्युतीय (ईभी) र एक्सटेन्डेड रेन्ज गरी दुई पावरट्रेन विकल्पमा ल्याइएको छ ।

ADVERTISEMENT

एक्सटेन्डेड रेन्ज भेरियन्टमा १.५ लिटरको रेन्ज एक्सटेन्डर इन्जिनसँगै ४३.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसले ब्याट्रीको शक्तिमा मात्रै ३२० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।

ADVERTISEMENT

रेन्ज एक्सटेन्डरको प्रयोग गर्दा भने यसको कुल यात्रा क्षमता १ हजार ३१५ किलोमिटरसम्म पुग्ने कम्पनीको दाबी छ । त्यस्तै, पूर्ण विद्युतीय भेरियन्ट ८०० भोल्टको सिलिकन कार्बाइड प्लेटफर्ममा आधारित छ। यसमा ८४.८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटक चार्जमा ७१५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

अल्फा टी७ को विशेषता पावरट्रेनमा मात्रै सीमित छैन । यसको भित्री भागमा पनि प्रविधिलाई प्राथमिकता दिइएको छ । परम्परागत ड्राइभर इन्स्ट्रुमेन्ट क्लस्टरको सट्टा ४३.३ इन्चको हेड–अप डिस्प्ले राखिएको छ भने केन्द्रमा १७.३ इन्चको ३के टचस्क्रिन उपलब्ध गराइएको छ ।
त्यस्तै, गाडीमा हुवावेको क्यानकुन एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली प्रयोग गरिएको छ । यसका लागि गाडीमा २५ वटा सेन्सर र क्याबिनमा लेजर भिजन प्रणाली समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

यो प्रविधिले राजमार्ग तथा सहरी सडकमा चालकलाई स्वचालित ड्राइभिङमा सहयोग गर्नुका साथै १६० भन्दा बढी अवस्थाका लागि स्वचालित पार्किङ सुविधा उपलब्ध गराउने दाबी गरिएको छ ।

आर्कफक्स ब्रान्ड नेपाली बजारका लागि भने नयाँ होइन । नेपालमा आर्कफक्सको टी१ मोडल हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक भइसकेको छ। लक्ष्मी ग्रुप आधिकारिक वितरक रहेको आर्कफक्सले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको अवस्थामा चीनमा सार्वजनिक भएको अल्फा टी७ ले पनि नेपाली बजारमा चासो बढाउन सक्छ ।

कम्पनीले नेपालमा अल्फा टी७ ल्याउने विषयमा औपचारिक घोषणा गरिसकेको छैन । तर, एक घण्टामै ३० हजारभन्दा बढी अर्डर पाएको यो एसयूभी नेपाली बजारमा कहिले आइपुग्छ भन्ने विषय भने चासोको विषय बन्न सक्छ ।