काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोषबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १ गते बसेको ४८२औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लागू हुनेछ।
बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ।
त्यस्तै, बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनसमेतका लागि १० प्रतिशत नगद लाभांश अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी, अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। यसअन्तर्गत १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण हुनेछ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।






