ललितपुर । नदिजन्य तथा खनिजजन्य पदार्थ जिल्ला अनुगमन समितिले ललितपुरको गोदावरी नगरपालिका–६ टिकाभैरवमा रहेका दुईवटा ढुंगा रोडा उद्योगको स्थलगत अनुगमन गरेको छ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालको संयोजकत्वमा मंगलबार गरिएको अनुगमनमा महर्जन ढुंगा रोडा उद्योग र निराकार ढुंगा रोडा उद्योगको अवस्थाबारे निरीक्षण गरिएको हो।

ADVERTISEMENT

अनुगमनमा ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, जिल्ला वन कार्यालय ललितपुरका प्रमुख संयोग बस्नेतलगायत सहभागी थिए।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य महर्जनले खानीहरूले न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै वन कार्यालय, नापी, मालपोत र स्थानीय तहले आवश्यक ध्यान दिनुपर्ने बताए। उनले स्थानीयवासीलाई असर नपर्ने गरी खानी सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समितिका प्रमुख फूँयालले वन क्षेत्र र खानी क्षेत्रको सीमाङ्कन स्पष्ट गर्नुपर्ने तथा खानीबाट निस्कने धुलो, माटो र अन्य फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको बताए।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी घिमिरेले सार्वजनिक वन, निजी वन र खानी क्षेत्रको सीमाङ्कन स्पष्ट गरेपछि मात्रै खानी सञ्चालन गर्नुपर्ने बताए। त्यसका लागि वन, नापी, मालपोत र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कर तिरेको आधारमा मात्रै स्थानीयवासीलाई असर पर्ने गरी खानी सञ्चालन गर्न नहुने बताए।

अनुगमनका क्रममा यी खानीहरूमा वन क्षेत्र अतिक्रमण भएको, वन र खानी क्षेत्रको सीमाङ्कन स्पष्ट नभएको तथा खानीबाट निस्कने धुलो र माटो खोलामा फाल्ने गरेको पाइएको समितिले जनाएको छ।

खानी सञ्चालकका प्रतिनिधिहरूले भने काठमाडौं उपत्यकाका लागि आवश्यक निर्माण सामग्री आपूर्ति गर्न यी खानीबाट महत्वपूर्ण योगदान भइरहेको दाबी गरेका छन्।

अनुगमनका क्रममा निराकार ढुंगा रोडा उद्योगले २०५१/५२ सालमा सुदर्शन विष्टले अनुमति लिएको दुई रोपनी जग्गाको आधारमा ३० रोपनीभन्दा बढी क्षेत्र ओगटेर खानी सञ्चालन गरेको जानकारी दिइएको थियो। वन क्षेत्रबाट समेत ढुंगा–रोडा उत्खनन भइरहेको बताइएको छ।

जिल्ला वन कार्यालय ललितपुरका प्रमुख संयोग बस्नेतले वनसँग जोडिएका यी दुईवटा ढुंगा रोडा उद्योगविरुद्ध वन अतिक्रमणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी दिए।