काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गर्ने सेयर लगानीमा कम्तीमा ४५ दिनको अवधि कायम गर्नुपर्ने व्यवस्था हुने भएको छ । बैंकको सेयर बजार लगानीलाई अल्पकालीन कारोबार तथा सट्टेबाजीबाट टाढा राख्दै बैंकिङ प्रणाली र पुँजी बजारबीचको जोखिम व्यवस्थापन गर्न सरकारले यस्तो व्यवस्था अघि सारेको हो ।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिले दोस्रो बजारमा गर्ने लगानीका लागि कम्तीमा ४५ दिनको अवधि कायम हुने गरी लगानी नीति बनाउनुपर्ने व्यवस्था यथाशीघ्र मिलाउने उल्लेख छ ।
यसको अर्थ बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर किनेपछि तत्कालै बिक्री गरेर छोटो अवधिको मूल्य उतारचढावबाट नाफा कमाउने किसिमको कारोबारलाई निरुत्साहित गर्ने नीति सरकारले लिन खोजेको हो । बैंकिङ क्षेत्रबाट हुने यस्तो लगानीमा ‘स्पेकुलेटिभ रिस्क’ कम गर्ने उद्देश्यले न्यूनतम लगानी अवधि तोक्न लागिएको हो ।
तर सरकारले ४५ दिनको अवधि तोक्नुका साथै बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीको समग्र जोखिम संरचनासमेत पुनरावलोकन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा रहेको लगानीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम, अन्तरसम्बन्ध, एउटा क्षेत्रमा आएको समस्या अर्को क्षेत्रमा फैलिन सक्ने सम्भावना तथा प्रणालीगत जोखिमका आधारमा समीक्षा गरिनेछ ।
त्यसैगरी धितोपत्रमा लगानी गर्न पाउने विद्यमान सीमा, जोखिम व्यवस्थापनको संरचना, जोखिम भार र धितो पर्याप्ततालगायतका व्यवस्था पनि पुनरावलोकन हुनेछन् । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा कात्तिक मसान्तभित्र यस्तो समीक्षा गर्ने कार्ययोजनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा अत्यधिक लगानी हुँदा सेयर बजारमा आएको ठूलो गिरावटको असर बैंकको वित्तीय अवस्थामा समेत पर्न सक्छ । त्यसैले बैंकिङ क्षेत्र र पुँजी बजारबीचको जोखिमलाई नियन्त्रणमा राख्नु सुधारको प्रमुख उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
विशेषगरी बैंकको लगानीमा रहेका धितोपत्रको मूल्यमा ठूलो उतारचढाव आएमा त्यसले बैंकको पुँजी, तरलता र समग्र वित्तीय अवस्थामाथि असर पार्न सक्ने भएकाले लगानीको सीमा र जोखिम व्यवस्थापनलाई पुनरावलोकन गर्न लागिएको हो। यसबाट बैंकिङ प्रणालीको वित्तीय स्थायित्व बलियो बनाउने सरकारको अपेक्षा छ ।
तर बैंक तथा वित्तीय संस्थालाई पुँजी बजारबाट अत्यधिक सीमित गर्दा बजारमा संस्थागत लगानी र तरलता घट्न सक्ने जोखिम पनि छ । त्यसैले समीक्षा गर्दा बैंकिङ प्रणालीको जोखिम घटाउने र पुँजी बजारमा आवश्यक संस्थागत लगानी कायम राख्नेबीच सन्तुलन खोज्नुपर्ने देखिन्छ ।
निक्षेपमा केन्द्रित संस्थागत पैसा बजारमा ल्याइने
सरकारले बैंक तथा वित्तीय संस्थाको सेयर लगानीलाई नियमनसँगै अन्य संस्थागत लगानीकर्ताको पैसा भने पुँजी बजारतर्फ बढाउने नीति लिएको छ । बैंक निक्षेपमा बढी केन्द्रित संस्थागत लगानीकर्ताको लगानीलाई पुनः सन्तुलित गर्दै धितोपत्र बजारमा लगानी बढाउने योजना कार्ययोजनामा छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न आवश्यक कानुनी, नीतिगत तथा संरचनागत सहजीकरण मङ्सिर मसान्तभित्र गर्ने उल्लेख छ ।
प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन लगानी नीति, कारोबार संरचना र आवश्यक पूर्वाधारमा समेत सुधार गरिनेछ । प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न नीति, नियम तथा निर्देशिकामार्फत सहजीकरण गर्ने सरकारको योजना छ ।
बैंकको निक्षेपमा पैसा राखेर ब्याज आम्दानी गर्नेमा केन्द्रित संस्थागत लगानीकर्तालाई धितोपत्र बजारतर्फ ल्याउन सके बजारमा दीर्घकालीन लगानीको आधार विस्तार हुने सरकारको अपेक्षा छ । यसले व्यक्तिगत लगानीकर्तामा बढी निर्भर रहेको बजारलाई संस्थागत लगानीतर्फ लैजानसमेत सहयोग गर्नेछ ।
पुँजी बजारलाई चलायमान बनाउन सरकारले सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधारसँगै नयाँ वित्तीय उपकरणको विकास, ऋणपत्र बजार विस्तार, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणाली सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीको पुनरावलोकनलगायतका विषय समेटिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार, लगानी र पुँजी बजारमा समेत परेको छ । भोटेकोशी बाढीबाट भएको मानवीय क्षति तथा जलविद्युत् आयोजना र अन्य भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेपछि पुँजी बजारको सुधार र पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो ।












