काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा राष्ट्रपति सीले चीन र भारतले द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोण र दीर्घकालीन विकासलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने बताएका छन्। दुई देशबीच केही मतभिन्नता रहे पनि साझा विकासका लागि एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उनले उल्लेख गरे।
सीले प्रधानमन्त्री मोदीसँग यसअघि २० भन्दा बढी पटक भेटवार्ता भएको र ती भेटमा विभिन्न महत्वपूर्ण सहमति बनेको स्मरण गरे। विश्वका दुई ठूला जनसङ्ख्या भएका तथा ‘ग्लोबल साउथ’का सदस्यका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ थियो।
भारतीय प्रधानमन्त्री मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले गरेको सहयोगका लागि राष्ट्रपति सीलाई धन्यवाद दिँदै स्वागत गरेका थिए। उनले भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताए।
सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणापत्र २०२६’ सर्वसम्मतिले पारित गरेका छन्। घोषणापत्रमा पश्चिम एसियामा जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयम अपनाउन, नागरिक तथा सर्वसाधारणका पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय कानुनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता गर्दै १९औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले भने विश्वव्यापी सुशासन सुधारका लागि १० वटा उपाय प्रस्ताव गर्दै ‘ग्लोबल साउथ’लाई निर्णय प्रक्रियाको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन्।






