काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले १५ करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय गरिएको छ। विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब तथा पदाधिकारीको पारिश्रमिक र बैठक भत्ताबाट रकम योगदान गरिनेछ।
निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले सुरु तलब स्केलको आठ दिन बराबर, अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्नेछन्।
त्यस्तै, सहायकस्तरका कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब योगदान गर्नेछन्। प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलब र दुई बोर्ड बैठकको भत्ता योगदान गर्ने निर्णय भएको छ। बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्नेछन्।
दूरसञ्चार प्राधिकरणको यो सहयोग भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिनेछ।






