काठमाडौं । उपभोक्ताबाट तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागको अनुगमन टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो। पसलले सुगमलगायतका ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।
उपभोक्ताको उजुरीपछि पुगेको टोलीले आधिकारिक मूल्यभन्दा बढी रकम असुल गरेको र ढुवानी खर्चको बहाना बनाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको पाइएपछि स्थलगत रूपमै जरिवाना गरेको हो।
त्यस्तै, ललितपुरको बालकुमारीस्थित एक ग्यास पम्पलाई पनि ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिई आफ्ना मान्छे तथा पहुँचवालालाई मात्र वितरण गरेको र बिक्रीको आधिकारिक बिलसमेत नराखेको विभागले जनाएको छ।
विभागका सूचना अधिकारी अनिल किरातीले अनुचित व्यापारिक गतिविधि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई मर्कामा पार्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।
विभागले उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन तीव्र बनाएको छ।






