काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दललाई लक्षित गर्दै दिएको अभिव्यक्तिको जवाफ दिएका छन्।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकनका क्रममा ओलीले गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै भने, ‘हामीले प्रशंसा गरिदिनुपर्ने हो र ? यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’

ADVERTISEMENT

गृहमन्त्री गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई सुध्रिन चेतावनी दिँदै विगतमा हेलिकप्टर चढेर भाग्नेहरूलाई अहिले ‘जाकिदिने’ भन्दै अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिप्रति ओलीले जवाफ फर्काएका हुन्।

ADVERTISEMENT

ओलीले भदौ २४ गते भएको घटनालाई देशका लागि ‘कालो दिन’ को संज्ञा दिए। उक्त दिन भएको विध्वंसका कारण देश २५ वर्षभन्दा बढी पछाडि धकेलिएको उनको दाबी छ।

उनले अहिले घटनाप्रति रमाउनेहरूले पनि त्यसको असर भविष्यमा भोग्नुपर्ने बताए। देश २५ वर्षभन्दा धेरै पछाडि परेको उल्लेख गर्दै ओलीले अहिले रमाउनेहरू पनि कम्तीमा २५ वर्ष पछाडि परेको कुरा पछि थाहा पाउने टिप्पणी गरे।

ADVERTISEMENT