सुर्खेत । अविरल वर्षासँगै कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ। आइतबार बेलुकीदेखि राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सडकमा क्षति पुगेपछि यातायात सञ्चालनमा समस्या भएको हो।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंका अनुसार पहिरो पन्छाउन आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरिएको छ। सडक खुलाउने काम जारी रहे पनि कतिपय स्थानमा सडक नै क्षतिग्रस्त भएकाले पूर्ण रूपमा यातायात सञ्चालनमा आउन केही दिन लाग्न सक्ने उनले बताए।
निरन्तर वर्षाका कारण थप पहिरो खस्ने जोखिमसमेत रहेकाले सडक खुलाउने काममा चुनौती देखिएको प्रशासनले जनाएको छ। यात्रु तथा मालवाहक सवारीसाधनलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
विशेषगरी कर्णाली राजमार्गका जोखिमयुक्त खण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।
सडक डिभिजन कार्यालय जुम्ला तथा सम्बन्धित निकायले पहिरो पन्छाउनेसँगै क्षतिग्रस्त सडकको मर्मतसम्भारसमेत अघि बढाएका छन्। मौसम अनुकूल रहेमा सडक सञ्चालनलाई थप तीव्रता दिने तयारी गरिएको छ।






