बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा चौलानी नदी थुन्ने गरी पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ।
पहिरोपछि केही समय नदी थुनिए पनि अहिले नदीको बहाव खुलेको बताइएको छ। तर पहिरो झर्ने क्रम नरोकिएकाले जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।
उनका अनुसार पहिरोको जोखिममा रहेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई आफन्तको घरमा राखिएको तथा आवश्यक टेन्टलगायत सामग्री उपलब्ध गराइएको अध्यक्ष बोहराले बताए।
‘१० परिवारलाई आफन्तको घरमा सारिएको छ, केही आवश्यक टेन्टलगायतका सामग्री उपलब्ध गराइएको छ,’ अध्यक्ष बोहराले भने। पहिरोले पर्यटकीय पदमार्गमा समेत ठूलो क्षति पुर्याएको उनले बताए।
लगातार पहिरो झरिरहेकाले भट्टार बस्ती अझै जोखिममा रहेको उनको भनाइ छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए। नदीको बहावमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन र नदीको बहाव तथा पहिरोको अवस्थाबारे निरन्तर जानकारी लिनसमेत अनुरोध गरेको छ।






