काठमाडौं — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो। समितिका संयोजक डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकले वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते गर्ने निर्णय गरेको छ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका तय गरिएको छ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने जिम्मेवारी संयोजक कोइरालालाई दिइएको छ।
बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारीसमेत कोइरालालाई दिएको छ।
कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन तयारीका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ। प्रतिनिधिहरूले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्नेछ।
क्रियाशील सदस्यताका विषयमा पनि बैठकले कार्यतालिका तय गरेको छ। सम्बन्धित अधिवेशन तयारी समितिले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउने निर्णय भएको छ। क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने बताइएको छ।






