काठमाडौं, भदौ १६ गते । रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई पुनः विद्यालय फर्काउन र उनीहरूको पढाइलाई निरन्तरता दिन फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो।
फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ। त्यस्तै, काठमाडौंमा तयारी अवस्थामा रहेका फर्निचर विद्यालयमा पुर्याइनेछ। विद्यार्थीका लागि विद्यालय झोला तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था भइरहेको छ। उक्त भवनबाट विद्यालय सञ्चालनमा ल्याउन चौधरी फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याउँदै ध्वस्त बनाएको थियो।चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउन तथा उनीहरूको अध्ययनलाई निरन्तरता दिन विद्यालय यथाशीघ्र सञ्चालन गर्न चाहेको बताउनुभयो।
विद्यालय सञ्चालनका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक राजेन्द्र दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। उक्त छलफलपछि फाउन्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग अघि बढाउने निर्णय गरेको हो।
प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले विद्यार्थीको पढाइलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताउँदै वैकल्पिक भवनको व्यवस्थापन हुनासाथ भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने जानकारी दिनुभयो।








