रसुवा बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त कम्पनीसँग सहमति भएपछि दुई हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएका छन्। आफन्तहरूले पाँच दिनसम्म आफ्ना परिवारजनको अवस्थाबारे स्पष्ट जानकारी नदिएको भन्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा धर्ना दिएका थिए। उनीहरूले जीवित भए तत्काल उद्धार गर्न र अवस्था अन्यथा भए शव उपलब्ध गराउन माग गरेका थिए।

कम्पनी र पीडित पक्षबीच भएको सहमतिअनुसार आफन्तलाई घटनास्थल लैजान हेलिकप्टर तथा आवश्यक यातायात व्यवस्था गर्ने, आयोजनामा कार्यरत कर्मचारीको अवस्थाको विवरण उपलब्ध गराउने, घटनाको दिनको सीसीटीभी फुटेज तथा कम्पनीको एक्सन प्लान उपलब्ध गराउने सहमति भएको छ।

ADVERTISEMENT

आफन्तहरूले अब घटनास्थलमै पुगेर आफ्ना परिवारजनको अवस्था, खोज तथा उद्धारको प्रगति र बाढीले आयोजनामा पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।

ADVERTISEMENT

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना बाढीपछि गम्भीर रूपमा प्रभावित भएको छ। आयोजनाको सुरुङ तथा मैलुङस्थित साइट क्षेत्र प्रभावित बनेपछि त्यहाँ रहेका कामदार तथा कर्मचारीको अवस्थाबारे परिवारजनमा लामो समयदेखि अन्योल कायम थियो।

ADVERTISEMENT