काठमाडौं, भदौ १२ — श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा पशुपतिस्थित वेद वृद्धाश्रमका बटुकहरूले बिहानै स्नान गरी पूजापाठसहित व्रत सुरु गरेका छन्।

जनैपूर्णिमाका दिन तागाधारी समुदायले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने धार्मिक परम्परा छ। पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र भोजन गर्ने तथा चोखोनितो भएर बस्ने चलन रहेको छ।

जनैपूर्णिमाको दिन व्रत बसेका तागाधारीहरू बिहानै पोखरी, ताल, नदी तथा कुण्डमा पुगेर विधिपूर्वक स्नान गर्छन्। स्नानअघि गाईको गोबर, खरानी, दतिवन तथा सप्तमृत्तिका प्रयोग गर्ने परम्परा छ।

ADVERTISEMENT

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिइन्छ। त्यसपछि वैदिक विधिअनुसार रुद्राभिषेक गरी मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। तागाधारी समुदायले यस दिन नयाँ यज्ञोपवीत धारण गर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिएको हो।

ADVERTISEMENT

यसै अवसरमा परिवारका सदस्य तथा आफन्तबीच रक्षासूत्र अर्थात् राखी बाँधेर एकअर्काको सुख, शान्ति र दीर्घायुको कामना गर्ने परम्परा पनि छ।

ADVERTISEMENT

नेपालका विभिन्न समुदायले जनैपूर्णिमा तथा रक्षाबन्धनलाई आ–आफ्ना धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाउने गरेका छन्।