काठमाडौं, भदौ १२ — प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि जाने व्यक्ति तथा संघसंस्थालाई सम्बन्धित सरकारी निकायसँग अनिवार्य समन्वय गर्न आग्रह गरेको छ।
शुक्रबार सचिवालयले सार्वजनिक गरेको नोटमा पूर्वसमन्वयबिना साना निजी सवारीसाधनमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र ट्राफिक जाम हुन थालेको उल्लेख गरिएको छ।
यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्स, सरकारी उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनलाई समेत गन्तव्यसम्म पुग्न कठिन भइरहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार विषम अवस्था र जोखिमयुक्त भूगोलमा पर्याप्त पूर्वतयारीबिना पुग्दा राहतदाताकै सुरक्षामा समेत जोखिम बढेको छ। त्यसैले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोक्दै सरकारी संयन्त्रसँग समन्वय गर्न अपिल गरिएको हो।
राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहनेहरूले आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गरेर मात्र राहत सामग्री हस्तान्तरण वा परिचालन गर्न सचिवालयले आग्रह गरेको छ।
सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री सोझै आवश्यक स्थानमा पुर्याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री सचिवालयले सद्भाव र सहयोगको भावनालाई सम्मान गर्दै राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सबैलाई सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गरेको छ।












