काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायताका लागि गोल्छा ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जानकारी दिएका हुन्।

बाढीपछि सार्वजनिक भइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा दुःखी र स्तब्ध बनाएको ग्रुपले जनाएको छ। विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै अझै आफन्तको सम्पर्कमा आउन नसकेका परिवारको पीडाप्रति ऐक्यबद्धता जनाएको छ।

ADVERTISEMENT

गोल्छा ग्रुपले यस्तो संकटको समयमा उद्धार, राहत र प्रभावित परिवार तथा समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु सबैको प्राथमिकता हुनुपर्ने बताएको छ।

ADVERTISEMENT

निजी क्षेत्रले पनि सरकार तथा स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्पछिको राहत र पुनःस्थापनामा योगदान गर्नुपर्ने धारणा राख्दै ग्रुपले सहयोग घोषणा गरेको हो।

ADVERTISEMENT

गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति साथ, सहयोग र ऐक्यबद्धता व्यक्त गरेको छ।