काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न सिफारिस गरेका हुन्।
पार्टीको केन्द्रीय निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको राप्रपाले जनाएको छ। पार्टीले यसअघि तीनै मन्त्रीसँग स्पष्टीकरण मागेको थियो। तर उनीहरूले स्पष्टीकरणको जवाफ नदिएपछि पदमुक्तिको प्रक्रिया अघि बढाइएको बताइएको छ।
यसअघि राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि पनि पार्टीले कारबाही गरिसकेको छ।
यसैबीच बागमतीका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। राप्रपाभित्र देखिएको विभाजनका कारण मुख्यमन्त्री थापाको सरकारको भविष्यसमेत अन्योलमा परेको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन राप्रपाका दुई सांसदको मत निर्णायक हुने अवस्था देखिएको छ।






