काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ।
गृहमन्त्री गुरुङसँग वार्ता गर्न गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं ल्याइएको हो। गृहमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहितको उपस्थितिमा छलफल हुनेछ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका आमा–बुवालाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो।
काठमाडौं आउनुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नी छोरीको न्यायका लागि जारी आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका थिए।
छलफलमा गरिमा चौधरीको हत्या घटनाको अनुसन्धान, न्यायको माग तथा पीडित परिवारका अन्य विषयमा कुराकानी हुने बताइएको छ।






