बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर प्रशासन र पीडित पक्षबीच भएको पाँचबुँदे सहमति पीडित परिवारले अस्वीकार गरेपछि पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पुनः अवरुद्ध भएको छ।

सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहीबार राति पाँचबुँदे सहमति भए पनि पीडित परिवारले स्वीकार नगरेपछि सडक अवरुद्ध भएको हो।

यता, पूर्व–पश्चिम महेन्द्र राजमार्ग भने शुक्रबार बिहानदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ। वीरगञ्जतर्फबाट आउने सवारीसाधनलाई कलैया–पिलुवा सडक हुँदै वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ।

ADVERTISEMENT

पीडित परिवारले गरिमा हत्या घटनाका दोषीलाई कडा कारबाही, न्याय तथा अन्य माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन्। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सहमतिका विषयमा पीडित परिवारलाई थप जानकारी गराउँदै सडक खुलाउने प्रयास भइरहेको छ।

ADVERTISEMENT