काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएपछि रावलले बिहीबारदेखि नै पदबहाली गरेका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावल लामो समयदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। उनले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६९ मा उपनिर्देशक र २०७५ मा निर्देशक भएका थिए।
पछिल्लो पटक २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका रावल डेपुटी गभर्नर नियुक्त हुनुअघि राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिरहेका थिए।




