काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ।
फिल्मको छायांकन एक महिनामा सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन्। उनको अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो।
‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ। कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ,’ थापाले भनिन्, ‘हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ। नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शकमाँझ ल्याउनेछौँ।’
उनले फिल्मको इन्डक्ल्याप समारोहमा फिल्मका प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गरेकी छन्। ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिकबाहेक उपचारका लागि सहयोग गरेकी हुन्।
यस फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीको अभिनय रहेको छ।
फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ। यो फिल्म आगामी माघ १ मा प्रदर्शन हुनेछ।




