काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४सै घण्टा सञ्चालन हुने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र ठमेल पर्यटन विकास परिषद्बीच समन्वय गरेर अघि बढ्ने सहमति भएको छ।
भेटका क्रममा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकरहरूको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न विभिन्न निकायसँग समन्वय भइरहेको बताए।
ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले २०८१ सालमा ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए।
परिषद्ले ठमेलको विकास, सुरक्षा र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।





