बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले बाराको सिमरामा प्रदर्शन गर्दै करिब सात घण्टादेखि सडक अवरुद्ध गरेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी बालिकाको हत्या भएको घटनामा प्रहरीले समयमै खोजीमा चासो नदिएको आरोप स्थानीयले लगाएका छन्। बालिका हराएको जानकारी इलाका प्रहरी कार्यालय सिमरालाई समयमै गराउँदा पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको उनीहरूको गुनासो छ।

स्थानीयले इलाका प्रहरी कार्यालय सिमराको नेतृत्व परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन्। उनीहरूले बालिका हराएको तीन दिनसम्म खोजी प्रभावकारी नभएको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याइएको आरोप लगाएका छन्।

ADVERTISEMENT

मंगलबार साँझ बालिकाको शव फेला परेको थियो। शव भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। परिवारले शव भेटिनुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ।

ADVERTISEMENT

स्थानीयको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। सडक खुलाउने प्रयासका लागि बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारी घटनास्थल पुगेका छन्। तर स्थानीयले प्रहरीको लापरबाहीमा संलग्न अधिकारीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

ADVERTISEMENT