काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेकाले देशका पहाडी तथा तराईका भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। अहिले देशभर साधरणतया बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा भइरहेको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

ADVERTISEMENT

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार राति पनि देशभर साधरणतया बदली रहनेछ। देशका हिमाली भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ।