काठमाडौं । शनिबारदेखि मौसममा परिवर्तन आए पनि मंगलबारदेखि देशभर मनसुन छाउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म देशका केही स्थानमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ ।

गएको २४ घण्टामा सबैभन्दा बढी पानी धादिङको गजुरीमा १६९.४ मिलिमिटर पानी परेको छ। त्यसपछि झापाको अनारमनीमा १५१.६ मिमि, रौतहटको गौरमा १४२.४ मिलिमिटर र महेशपुरमा ९१४१.४ मिलिमिटर पानी परेको छ। जसलाई अति भारी वर्षा भनिन्छ ।

महाशाखाका अनुसार अहिले पनि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ। महाशाखाले आगामी मंगलबार रातिसम्म मनसुन सक्रिय रहने भएकाले बाढीपहिरोको जोखिम पनि रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार लामो समय सरदरमा बसेको मनसुनी रेखा हाल उत्तरतर्फ (नेपालको सीमा नजिक) बसेको छ । तराई–मधेशमा पनि वर्षा भइरहेको छ । लामो खडेरीका कारण खोलानाला सुक्नुका साथै खेतमा चिरा परेकाले अहिलेको पानीले भरण गरिरहेको छ ।

अन्य क्षेत्रभन्दा पूर्वी नेपालको पहाडी जिल्ला तथा कर्णाली र सुदूरपश्चिममा भने कम वर्षा रेकर्ड भएको छ । सोमबार देशका धेरै ठाउँमा वर्षा हुने आकलन महाशाखाले गरेको छ ।
आइतबारबाट बागमती, गण्डकी र लुम्बिनी केन्द्रित वर्षा भइरहेको छ । सोमबार पनि यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमसविद् महर्जनले बताइन् ।