काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ पार्टी खोल्ने उद्देश्यले भेला आयोजना नगरिएको बताए।
कोइरालाले समयअनुसार पार्टीको नीति, विचार र कार्यशैलीमा आवश्यक परिमार्जन गर्न यस्ता भेला महत्वपूर्ण हुने बताए। उनले आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको दोहोर्याउँदै अदालतको निर्णय आफ्नो पक्षमा नआए पनि पार्टीभित्रै छलफल गरेर आगामी रणनीति तय गरिने स्पष्ट पारे।
‘सर्वोच्चको फैसला विपक्षमा आउने सम्भावना कम छ, आएपछि सोचौँला’ भन्दै उनले त्यसपछि पनि सबै पक्षसँग छलफल गरेर निर्णय लिइने बताए।
“अर्को पार्टी खोल्ने म त्यसको पक्षमा बिल्कुलै छैन,” कोइरालाले स्पष्ट भने।
देउवाकै नेतृत्वमा महाधिवेशन हुने दाबी
नेता कोइरालाले कांग्रेसको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे। यद्यपि परिस्थिति आफूहरूले अपेक्षा गरेअनुसार अघि नबढे थप छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।
उनको भनाइले कांग्रेसभित्र जारी नेतृत्व र वैधानिकताको विवादबीच पार्टी विभाजनभन्दा आन्तरिक छलफल र एकताको बाटो रोज्नुपर्ने धारणा स्पष्ट पारेको छ।
सरकारमाथि शशांकको टिप्पणी : ‘कामचलाउजस्तै’
कोइरालाले वर्तमान सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। बहुमत प्राप्त सरकार भए पनि जनताले महसुस गर्ने गरी कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको उनको आरोप छ।
“बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन,” उनले भने, “नयाँ कुनै नीतिहरू ल्याएका त छैनन् उनीहरूले। खालि यो कामचलाउ सरकार भनौँ न।”
उनले वर्तमान सरकार पूरा पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई पनि राजनीतिमा नकार्न नसकिने बताए।
कोइरालाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको विवादका बीच पार्टी फुटाउनेभन्दा आन्तरिक संवादमार्फत निकास खोज्नुपर्ने उनको धारणा देखिएको छ। साथै, आगामी महाधिवेशनसम्म देउवा नेतृत्वलाई निरन्तरता दिने विषयमा पनि उनले स्पष्ट संकेत गरेका छन्।





