काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा रही नेपालनजिक रहेको छ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
मधेस प्रदेश तथा गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा मधेस, कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





