काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिएका छन् । हाल अमेरिकामा रहेका उनले इमेलमार्फत केन्द्रका कार्यकारी निर्देशकलाई राजीनामा दिएका हुन् ।
२५ वर्षदेखि अस्पतालमा कार्यरत कोइरालाले असोज ३० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनले त्यसबेलासम्म आफू नेपालमा हुन भौतिक रूपले पनि असमर्थ हुने भएकाले बुझबुझारथका लागि कुरिदिन आग्रह पनि गरेका छन् ।
कोइरालाले आफू अस्पतालमा कार्यरत नभए पनि यसै वर्षदेखि संघीय सरकारले केन्द्रलाई मुटुबाट विस्तार गरी शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’ बनाउनेमा आफूले आशा राखेको पनि बताएका छन् ।
सरकारले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्येमा एउटामा उपकुलपति नियुक्त नगरेपछि अमेरिकामा रहेका कोइरालाले उतैबाट राजीनामा पत्र पठाएका हुन् । उनले दुवै स्वास्थ्य प्रतिष्ठानमा आवेदन दिएका थिए ।
कोइरालाको राजीनामा पत्र
महोदय, उपरोक्त संबन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेलरहस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।
सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ। म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं(हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’ का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु । मलाई यस केन्द्रमा बिताएको २५वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ ।









