काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो। राखेप अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति र स्थान तय गरेको हो।

ADVERTISEMENT

बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावली पनि अनुमोदन गरिएको छ।

ADVERTISEMENT

बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन सबै पक्ष एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, विभिन्न प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा राखेप बोर्ड सदस्यहरूको उपस्थिति थियो। राखेप सदस्य–सचिव रामचरित्र मेहताले बैठकमा विभिन्न विषय प्रस्तुत गरेका थिए।