काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरवलोकन नगर्ने स्पष्ट पारेको छ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले हाललाई यो व्यवस्था परिवर्तन गर्ने कुनै तयारी नरहेको बताइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिने बिदा प्रभावकारी नभएको भन्दै यसलाई खारेज गरी सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने व्यवस्था पुनः लागू गर्न माग गरेका थिए। उनले दुई दिने बिदाका कारण शिक्षा, व्यापार तथा सरकारी सेवामा असर परेको दाबी गरे।

ADVERTISEMENT

जवाफमा मन्त्री गौतमले इन्धन आपूर्तिमा देखिएको समस्या, ऊर्जा खपत घटाउने उद्देश्य तथा सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउन २०८२ चैत २३ गतेदेखि दुई दिने बिदा लागू गरिएको बताइन्।

ADVERTISEMENT

सरकारका अनुसार यस व्यवस्थाले कर्मचारीको कार्य–जीवन सन्तुलन, प्रशासनिक तथा ऊर्जा खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ। बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई समेत सहज भएको सरकारको दाबी छ।

सांसदहरूले विद्यार्थीको पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने, सरकारी सेवामा सुस्तता आउने तथा अन्य क्षेत्रमा समेत असर पर्न सक्ने विषय उठाएका थिए। मन्त्री गौतमले भने हाललाई बिदा व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य नभएको बताउँदै सांसदहरूबाट प्राप्त सुझावलाई अध्ययनको विषय बनाइने जानकारी दिइन्।

सरकारले दुई दिने बिदा यथावत् राख्ने संकेत गरेसँगै यसको प्रभावकारिता र दीर्घकालीन निरन्तरताबारे बहस भने जारी रहने देखिएको छ।