काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

समितिले बुधबार आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन’ सम्बन्धी छलफलमा सभापति अन्सारीले आपूर्ति व्यवस्थामा देखिएको समस्या तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा व्यवस्थित आपूर्ति प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

उनले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

ADVERTISEMENT

उनले भने,‘ग्यास तथा खाद्य आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक छ । तत्कालको समस्या समाधानसँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिने गरी दीर्घकालीन योजना बनाउनुपर्छ ।’

कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प, ट्याङ्कर तथा ग्यास डिलरको इजाजतपत्रसमेत खारेज गर्न सकिने गरी अधिकतम कारबाही गर्नुपर्ने अन्सारीको भनाइ छ ।

ADVERTISEMENT

समितिले आपूर्ति व्यवस्थासँग सम्बन्धित सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि बजारमा सुधारका संकेत देखिएको सभापति अन्सारीले बताए । उनले उपभोक्तालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई निरन्तर अनुगमन र प्रभावकारी कदम चाल्न आग्रह गरे ।