काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले चिकित्सा पेसासँगै देश नै छाडेका छन् । कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा ‘देश, पेसा जीवन र भूमिका सबै अब फरक’ लेख्दै तस्बिरसमेत हालेका छन् ।
जसमा उनी परिवारका सदस्यसँग विदेश उड्न लागेको देखिन्छ । बुझिएअनुसार उनी अमेरिका प्रस्थान गरेका हुन् । कोइराला लामो समयदेखि गंगालाल हृदयरोग केन्द्रमा कार्यरत थिए ।
सामाजिक सञ्जाल एक्समा समसामयिक विकृति र विसंगतिका साथै चोटिला राजनीतिक स्टाटस लेख्ने कोइराला विभिन्न मिडियाका स्तम्भ लेखक पनि हुन् । उनले सुरुमा गंगालाल हृदयरोग केन्द्रको डाइरेक्टर बन्न चाहेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको असहमतिले उनले नियुक्ति पाएनन् ।
अहिले उनकै मिल्ने साथी प्रदीप पौडेल स्वास्थ्यमन्त्री थिए । तर पनि पौडेलले कोइरालालाई बिपी र पोखरामध्ये एउटामा पनि उपकुलपति नियुक्त गर्न सकेनन् ।
कोइरालाले केही समयअघि मात्रै एलएलएम गरेका थिए । विदेशमा उनले कानुन व्यवसायीको प्राक्टिस गर्ने बुझिएको छ । लेखन र बोल्नमा अब्बल मानिएका कोइरालाले देश छाडेकोमा धेरैले चिन्ता व्यक्त गरेका छन् । देशले एउटा अब्बल मुटुरोग डाक्टर जोगाउन नसकेको टिप्पणी हुन थालेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका कोइरालालाई सरकारले दुवैमा नियुक्त नगरेपछि उनी विदेश लागेका हुन् । सरकारले मगलबार चारवटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ ।
गत जेठ १४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा चारवटा स्वास्थ्य प्रतिष्ठानमा ५५ जनाले दाबी पेस गरेका थिए । कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए ।
कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरतबहादुर खत्री नियुक्त भएका छन् ।






