महेन्द्रनगर । कञ्चनपुरमा छाडा पशु चौपायाका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले युवाहरूले ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरेका छन्। गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका छाडा गाईबस्तुलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो।

स्थानीय युवा समूहको सक्रियतामा सुरु गरिएको अभियानअन्तर्गत सोमबार मात्रै १५० भन्दा बढी पशु चौपायामा रिफ्लेक्टिङ बेल्ट जडान गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए। उनका अनुसार रातिको समयमा सडकमा रहेका छाडा चौपाया नदेखिँदा दुर्घटना बढ्ने भएकाले सवारी चालकलाई टाढैबाट पशु देख्न सहज बनाउन यो पहल गरिएको हो।

ADVERTISEMENT

“रातिको समयमा राजमार्गमा छाडा पशु चौपाया देख्न नसक्दा दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरेका हौँ,” भट्टले भने। उनले २० देखि २२ जना युवा स्वस्फूर्त रूपमा अभियानमा सहभागी भएको जानकारी दिए।

स्थानीय युवाको अभियानलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत सहयोग गरेको छ। भट्टले छाडा पशु चौपाया व्यवस्थापन स्थानीय तहका लागि अझै चुनौती बनेको बताए।

ADVERTISEMENT

कञ्चनपुरमा मात्रै एक हजारभन्दा बढी छाडा पशु चौपाया रहेको अनुमान गरिएको छ। शुक्लाफाँटा नगरपालिकाले पछिल्लो समय व्यवस्थापनको प्रयास थाले पनि अन्य क्षेत्रमा समस्या कायमै रहेको बताइएको छ।

समाजसेवी भट्टले गौमाताको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षलाई आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेका छन्।