काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्।

बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशका दर्जनभन्दा बढी सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

ADVERTISEMENT

काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डअन्तर्गत बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

त्यसैगरी मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको हो। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ।

सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाका चारकिलो, कोदारी र लिपिङमा पहिरो खसेपछि तातोपानी जाने सडक पूर्ण रूपमा बन्द भएको छ।

ADVERTISEMENT

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने बताइएको छ।

कोशी प्रदेशमा पनि बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्डका लागि वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। वैकल्पिक सडक रहे पनि उक्त स्थानमा हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशका बागलुङ र लमजुङका सडक पनि पहिरोका कारण प्रभावित छन्। बागलुङको जैमिनी नगरपालिका–बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। दुईतर्फी रूपमा सडक सञ्चालन गर्न अझै समय लाग्ने देखिएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–बिमिरेभञ्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशमा बाढीले सडक सञ्जालमा थप क्षति पुर्‍याएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी मर्कामा परेका छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा सुरक्षाकर्मी परिचालन गरिएको छ भने वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

1