काठमाडौं । साउन महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफा गरौँ’ अभियान अन्तिम सोमबार सरसफाइ गर्दै सम्पन्न भएको छ।

द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको फोहोरमैला व्यवस्थापन तथा सरसफाइसँगै धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

समापन समारोहमा द कोका–कोला फाउन्डेसनका आदित्यले क्रिएसन नेपालसँगको सहकार्यमा प्रभावकारी काम भइरहेको भन्दै आगामी दिनमा अभियानलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विभिन्न चुनौतीका बाबजुद अभियानलाई निरन्तरता दिन सहयोग गर्ने सबै सहभागीलाई धन्यवाद दिइन्। उनले द कोका–कोला फाउन्डेसनसँगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्दै देशव्यापी रूपमा लैजान आग्रह गरिन्।

ADVERTISEMENT

‘सफा गरौँ’लाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तर चल्ने नागरिक पहलका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

क्रिएसन नेपालकी सचिव रोशना सुवेदीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ सबै नागरिकको साझा दायित्व भएको बताइन्। धार्मिक तथा सांस्कृतिक धरोहर र आस्थाका केन्द्रलाई सफा, सुग्घर तथा सांस्कृतिक गरिमा कायम हुने अवस्थामा राख्नु जागरुक समाजका हरेक नागरिकको जिम्मेवारी भएको उनको भनाइ थियो।

अभियानकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार चार सोमबारसम्मको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन भएका थिए। विभिन्न कलेजका सयौँ विद्यार्थीसमेत अभियानमा सहभागी भएका थिए।

प्रत्येक सोमबार फोहोरमैला व्यवस्थापन तथा सरसफाइका लागि दुई दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरिएको उनले जानकारी दिइन्। विद्यार्थी, स्वयंसेवक तथा सफाइकर्मीको सक्रिय सहभागिताले पशुपति क्षेत्रको सरसफाइमा महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

अभियानको समापनका अवसरमा चारै सोमबार निरन्तर सहभागी भएका विभिन्न कलेजका विद्यार्थी, स्वयंसेवक तथा सफाइकर्मीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

आयोजकका अनुसार धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेका र विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थलको स्वच्छता तथा सरसफाइलाई प्राथमिकतामा राख्दै ‘सफा गरौँ’ अभियान आगामी दिनमा देशव्यापी रूपमा सञ्चालन गरिनेछ।