काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा र मर्यादा कायम राख्न पोसाक संहिता (ड्रेस कोड) लागू गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेको भन्दै आपत्ति जनाए।
उनले प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर संसद् प्रवेश गर्न रोक लगाउन सभामुखसँग विशेष रुलिङको माग गरे। उनले संसद्को गरिमा कायम गर्न सांस्कृतिक वा राष्ट्रिय पोसाक अनिवार्य गर्नुपर्ने बताए।
‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,’ पोखरेलले भने।
संसदीय अनुशासनको महत्त्व दर्शाउन उनले न्युजिल्यान्ड र क्यानडाको संसद्का उदाहरणसमेत प्रस्तुत गरे। उनका अनुसार सन् २०२१ मा न्युजिल्यान्डको संसद्मा एक सांसदले टाइ लगाउन अस्वीकार गरेपछि संसदीय रुलिङमार्फत उनलाई सभाबाट निष्कासन गरिएको थियो।
त्यस्तै, सन् २०२३ मा क्यानडाको संसद्मा पनि पोसाक संहिता लागू गर्न संसदीय रुलिङ भएको उनले बताए।
सांसद पोखरेलले संसद्को लोगोको प्रयोगमा समेत अनुशासन आवश्यक रहेको बताए। उनका अनुसार संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज तथा सललगायत पोसाकमा प्रयोग गर्न रोक लगाउनुपर्छ।
संसदीय मर्यादा र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न म सभामुख महोदयसँग विशेष रुलिङको माग गर्दछु।’





