काठमाडौं । गत कात्तिकमा दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँचजनाको शव फेला परेको छ ।

गत कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काले जानकारी दिए ।

ADVERTISEMENT

स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव संकलन र पहिचानका लागि शुक्रबार यलुङ-री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो । मौसम सुधार भए आजै पाँचवटा शव गोंगर ल्याइनेछ ।

ADVERTISEMENT

गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि ५६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए । हिमपहिरोमा परेका आठजनाको सकुशल उद्धार भएको थियो । आरोहणका क्रममा सातजना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्तामध्ये दुईजनाको शव त्यतिबेलै भेटिए पनि पाँचजनाको पत्ता लागेको थिएन । हिमपहिरोमा परी दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव भेटिएको थियो ।

हिमपहिरोमा परी फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँचजना विदेशी नागरिक बेपत्ता भएका थिए । अहिले उनीहरूकै शव भेटिएकाे हाे ।